विवेक न्यौपाने, पथरी
असार १६

कक्षा नौ (९) मा दुई पटक अनुत्तीर्ण भएकै कारण ऋतु नेपाली (परिवर्तित नाम) ले पढाइ छाडिन्। त्यसो त पढाइ छाड्नु अघि उनका अभिभावक समेत आएर कक्षा चडाइ दिन अनुरोध समेत गरे तर विद्यालय प्रशासनले त्यसरी कक्षा चढाउन नमिल्ने बताए पछि ऋतुले पुनः कक्षा ९ मा पढ्न चाहिनन्। उनी अहिले विद्यालय जानै छाडेकी छन्।
यसरी विद्यालय छाड्नेहरुको सङ्ख्या सामुदायिक विद्यालयमा बर्सेनि बढिरहेको छ। मोरङ्गको पथरी शनिश्चरे ८ मा स्थापित बुद्द माध्यमिक विद्यालयमा गत शैक्षिक सत्रमा कक्षा २ मा १६ जना विद्यार्थी भर्ना भएको भए पनि यश बर्ष उक्त कक्षामा केवल ८ जना मात्र अध्ययन गरिरहेका छन। १२४ जना विद्यार्थी रहेको कक्षा ८ बाट समेत ४७ जना विद्यार्थीहरुले विद्यालय छाडेका छन। परिक्षामा असफल भएकै कारण धेरैले पढाई छाड्ने गरेको सो विद्यालयका शिक्षक सुवास गौतम बताउनुहुन्छ। त्यस्तै पथरी शनिश्चरे ९ मा रहेको सिंहवाहिनी माध्यमिक विद्यालयमा समेत बर्सेनि विद्यार्थी संख्या घट्दो छ। कक्षा ६ मा भर्ना भएका ४४ जना विद्यार्थीमध्ये ११ जनाले बिचमै विद्यालय छाडेका छन। त्यसैगरि कक्षा १ मा ८ जना, २ मा ५ जना, ३ मा १ जना, ४ मा ६ जनाले बिचमै पढाइ छाडेका छन। यसै अनुरुप नगरका अधिकांश सरकारी विद्यालयमा विद्यार्थीहरुले बिचमै पढाइ छाड्ने प्रवृत्ति बड्दो छ।
सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या यसरी बर्षै पिच्छे घट्नुको मुख्य कारण परिक्षामा अनुत्तीर्ण हुनु मात्र हैन। विद्यार्थीको पारिवारिक र आर्थिक कारण , सानै उमेरमा हुने प्रेम विवाह र यदाकदा शिक्षकहरुबाट भएको दुर्ववहार र सजाय पनि हुन। यसै बिषयमा सिंहवाहिनी माध्यमिक विद्यालयका प्रधानाध्यापक जगतमणी गौतमले गरिवीको कारण धेरै विद्यार्थीले बिचमै पढाई छाड्ने गरेको सुनाउनु भयो । प्रधानाध्यापक गौतम भन्नू हुन्छ-” अधिकांश विद्यार्थीहरु आमाबाबुको संरक्षणमा छैनन् , विभिन्न पारिवारिक कारण आमा वा बाबुको साथमा रहन नसक्नुले समेत पढाईमा निरंतरता पाउन सकिरहेको छैन”।
सामुदायिक विद्यालयमा शिक्षा आयोगले पठाएका तालिम प्राप्त शिक्षक, नि शुल्क पाठ्यपुस्तक , छात्रवृत्ति , अंग्रेजी माध्यम, सुविधाजनक सौचालयको व्यवस्था हुँदाहुँदै पनि किन विद्यार्थी टिकाउन सकिँदैन भनेर हिरक आधारभुत विद्यालयका व्यवस्थापन समिति पुर्व अध्यक्ष गणेश थक्लुङ्गलाई प्रश्न गर्दा उहाँले पहिलो कमजोरी अभिभावक र शिक्षक स्वयंको भएको अनुभव सुनाउनु भयो। शिक्षकको लापरबाहीका कारण अधिकांश विद्यार्थी र अभिभावकहरुमा सामुदायिक विद्यालयप्रती वितृष्णा पैदा भएको उहाँको ठहर छ।
सरकारले सामुदायिक विद्यालयको क्षेत्रमा मनग्ये लगानी गरेता पनि सोचे अनुरुपको लक्ष्य हासिल गर्न नसकिरहेको अवस्था छ। ड्रप आउटको समस्याले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा निकै प्रभाव पारिरहेको छ। यसरी निरन्तर बढिरहेको ड्रप आउटको समस्याको समाधान के हुन सक्ला भन्ने प्रश्नको जवाफमा पथरी शनिश्चरेका शिक्षा शाखा प्रमुख तथा उपसचिव शालिकराम काफ्ले भन्नू हुन्छ-” निजि विद्यालयको प्रभावका कारण तल्लो कक्षाका विद्यार्थीहरु सामुदायिक विद्यालयमा घटिरहेका छन। तसर्थ अभिभावकहरुको अङ्ग्रेजी मोह यदि हो भने सम्पुर्ण सामुदायिक विद्यालयहरुले क्रमशः अङ्ग्रेजी माध्यममा पठनपाठन गर्न आवश्यक छ”। काफ्लेका अनुसार इसिडी (बाल कक्षा) पढेर ठिक्क १ मा जाने अवस्थामा निजि विद्यालयले प्रभाव पारेर विद्यालय तान्ने प्रवृत्तिले सामुदायिक विद्यालयमा विद्यार्थी संकट छ। नगरपालिकाले यसको समाधानका लागि अङ्ग्रेजी माध्यमको पुस्तक खरिद देखि लिएर दक्ष अङ्ग्रेजी शिक्षकको व्यवस्थापनको लागि बजेट विनियोजन गरेकोले अबको शैक्षिक सत्रमा ड्रप आउटको समस्यामा कमि आउने आशा गरेको उपसचिव काफ्ले बताउनु हुन्छ।

सानै उमेरमा हुने प्रेम विवाहले समेत ड्रप आउटको दरमा वृद्धि ल्याउन अहम भुमिका खेलेको पाइन्छ। कलिलो उमेरमा प्रेम विवाह गरे पश्चात् आर्थिक कठिनाइ झेल्नु पर्ने र परिवारको आवश्यकता पूरा गर्न पढाइ छाडी मजदुरी गर्नु पर्ने कारण ड्र्प आउटको दर बढ्दो छ। सिंहवाहिनी मावीमा कक्षा ७ मा अध्ययनरत छात्र निशान राई (परिवर्तित नाम ) प्रेम विवाह गरे पश्चात् विद्यालय छाड्नु यसको ज्वलन्त उदाहरण भएको विद्यालय श्रोतले बतायो।
त्यसै गरि लागू पदार्थ दुर्व्यसनीको कारण समेत अधिकांश विद्यार्थीहरुले बिचैमा पढाई छाड्ने क्रम बढ्दो छ। पथरी शनिश्चरे नगरपालिका भित्र रहेका २८ सामुदायिक विद्यालयहरु मध्ये माध्यमिक तह संचालन भएका विद्यालयहरुमा लागू औषधका कारण विद्यालय छाड्ने प्रवृत्ति बढ्दो छ।
अधिकांश सामुदायिक विद्यालयका अभिभावकहरु पढाइ प्रती सजग नहुदाँ समेत ड्रप आउटले प्रशय पाएको देखिन्छ। जालपा देवि आधारभुत विद्यालयका शिक्षक सुर्य कार्कीका अनुसार, अभिभावक आफैँ साक्षर नहुनु र पढाईको महत्व बुझ्न नसक्नुले नानीहरुको पढाईमा निरन्तरता दिन सकिरहेका छैनन। यसको लागि सरकारले विद्यालयका साथसाथै अभिभावकहरुका निम्ति अभिमुखिकरण लगायतका कार्यक्रम संचालन गरिनु आवश्यक रहेको उहाँको तर्क छ।

समाजमा विभिन्न समयमा घट्ने लैंगिक हिंसाले समेत विद्यार्थीलाई बिचमै पढाई छाड्न बाध्य बनाइरहेको छ। केही महिना अघि आफ्नै साथिको योजनामा हिंसाको सिकार बनेकी पथरी शनिश्चरे १० कि एक बालिका अहिले पढाइ नै छाडेर आफन्तकोमा बसिरहेकी छन।” के गर्नु, अब विद्यालय गएर पढ्ने अवस्था नै रहेन, साथीहरुले त्यै एउटै कुरा गरेर बसिनसक्नु बनाए त्यसैले अहिले काठमाडौमा आफन्तकोमा पठाइ दिए उतै होटलतिर भाडा माझ्छे, बस्छे।” पिडित बालिकाकी आमाले भनिन। उनी दैनिक मजदुरी गरेर आफ्नो परिवार धान्दै आएकी छिन।
यसरी विविध कारणले बिचमै पढाइ छाड्नाले माध्यमिक शिक्षा परिक्षामा सम्मिलित हुनेको संख्यामा समेत प्रभाव पर्ने गरेको छ। यसपालीको एस इ इ सीमा ४ लाख ७५ हजार ३ जना विद्यार्थी सहभागी भएका छन् । यस पटक परीक्षा दिने विद्यार्थी २०६६ सालमा एक कक्षामा भर्ना भएका हुन् । त्यस वर्ष एक कक्षामा १६ लाख ५९ हजार विद्यार्थी भर्ना भएको तथ्यांक शिक्षा मन्त्रालयसँग छ। तीमध्ये २५ प्रतिशतमात्रै कक्षा १० सम्म आइपुगेका हुन् । यसमा पनि एसएलसी पास हुनेको संख्या न्युन छ । गतवर्ष एस ई ई सी दिने विद्यार्थीमध्ये एक कक्षामा १३ लाख भर्ना भएका थिए । त्यसमा ३ लाख ९४ हजारले एस ई ई दिएका थिए ।
निजी विद्यालयमा माथिल्लो तहमा कक्षा छाड्ने दर बढी छ भने सामुदायिकमा तल्लो तहमा बढीले कक्षा छाडेको पाइन्छ । २०६७ देखि विद्यार्थी संख्या घट्दै गएको भए पनि सरकारी लगानीचाहिं बढ्दै गएको छ । २०६२ मा एकजना विद्यार्थी बराबर २ हजार ९ सय ९३ रुपैयाँ खर्च हुन्थ्यो भने यस वर्ष यो रकम बढेर १२ हजार ३ सय १४ पुगेको छ । प्रतिवर्ष सरदर १० हजारको दरले खर्च गर्दा एकजना विद्यार्थीलाई एस इ इ सम्म पढाउन न्युनतम राज्यले एक लाख रुपैयाँसम्म खर्च गर्ने गरेको तथ्यांक भेटिन्छ । यो लगानी राज्यले सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीका लागि गरेको हो । निजी विद्यालयमा आफूखुसी शुल्क लिने भएकाले अभिभावकले कति खर्च गर्छन् भन्ने यकिन गर्न गाह्रो छ ।

शिक्षा विभागका अनुसार विद्यालय छाड्ने (ड्रप आउट) मा १ देखि कक्षा ५ सम्मका विद्यार्थी बढी देखिन्छन् । त्यस्तै आठ कक्षासम्म पुगेर छाड्नेहरू पनि उत्तिकै छन् । सेना, प्रहरीमा जागिर खान ८ कक्षा पढे पुग्ने भएकाले पनि यस्तो भएको हो । अब सो शैक्षिक योग्यतामा फेरबदल आएको कारण ड्रप आउटको प्रवृति पनि घट्न सक्ने जानकारहरुको तर्क छ।
आजको दिनमा शिक्षाको महत्व अत्याधिक बढिरहेको र प्रतिस्पर्धात्मक बजारमा यसरी ड्रप आउटले राष्ट्रलाई आवस्यक दक्ष जनशक्ती उत्पादनमा समेत प्रभाव पारिरहेको हुन्छ। ड्रप आउटको समस्या तत्काल समाधान नगरे अबको बजारमा दक्ष जनशक्तिको अभाव तत्काल झल्कने लामो समय श्रोत व्यक्ती रहनु भएका शिक्षक सोमनाथ निरौला बताउनुहुन्छ।

तथापी सामुदायिक विद्यालयको तुलनामा निजि विद्यालयमा विद्यार्थी र अभिभावकको आकर्षण बढ्दो छ। किन अभिभावक र विद्यार्थी निजि विद्यालयतर्फ आकर्षित भैरहेका छन त? नगरकै एक निजि विद्यालयका संचालक नाम उल्लेख नगर्ने सर्तमा भन्छन – सामुदायिक विद्यालयमा स्थायी दरबन्दीका कारण शिक्षकमा अल्छीपना बढ्दो छ तर निजिमा जागिरको ग्यारेन्टी नहुने हुदाँ शिक्षक मर्यादित भएर पठनपाठन गर्ने हुदाँ गुणस्तरीय शिक्षा प्रदान हुन्छ त्यसैले अभिभावकहरुको पहिलो रोजाईमा निजि विद्यालय पर्छ”।
सामुदायिक विद्यालयमा आफ्नो नानी पढाइरहेका अभिभावक समेत विद्यालयको शैक्षिक गुणस्तरबाट खासै प्रभावित नभएको बताउछन। सामुदायिक विद्यालयमा आफ्नो छोरी पढाइरहनु भएका लक्ष्मी फुयाल प्रायः मानिसको आर्थिक स्थिति सबल भएको र प्रतिस्पर्धाको हिसाबले निजि विद्यालयमा नानी पढाउने होडबाजीले सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या घट्दो रहेको बताउनुहुन्छ। सामुदायिक विद्यालयका शिक्षकहरुले जिम्मेवारी र जवाफदेही भएर आफ्नो कार्यशैलीमा परिवर्तन ल्याए र प्रशासनिक क्षेत्रबाट पनि शिक्षकलाई सहि निर्देशन र आवश्यक सहयोगको वातावरण तर्जुमा गरे सामुदायिक विद्यालयमा देखिएको ड्रप आउटको समस्यामा न्यूनीकरण मात्र आउने थिएन शिक्षण सिकाई र गुणस्तरमा समेत वृद्धि हुने थियो। र शिशिरले खाएको उजाड वनजस्तो सामुदायिक विद्यालयमा हरियाली छाउने थियो।

तपाईको प्रतिक्रिया

new@7am 2074-01-19 Download Listen
simrik yetra with नेपाल तामाङ घेदुङ तामाङ भाषा लिपि तथा साहित्य बिभाग प्रमुख Kajiman Theeng Tamang सग को कुराकानी Download Listen
Good Night Download Listen
simrik stationid Download Listen
Audio Four Download Listen
Audio Three Download Listen
Audio Two Download Listen
sample Download Listen