३० जेष्ठ , २०७५

डेङ्गु एक भाइरसद्वारा लाग्ने संक्रमण हो, जुन एडिज नामको लामखुट्टेको टोकाइबाट हुने गर्दछ। विभिन्न प्रकारका एडिजमध्ये एडिज एलवोपिक्टस र एडिज एजेप्टी मुख्य हुन्। डेङ्गु भाइरस चार प्रकारका हुने प्रमाणित भइसकेकोमा यी सबै नेपालमा पाइन्छन्, जसलाई डेङ्गु भाइरस १,२,३,४ भनिन्छ। एडिज लामखुट्टेको शरीर र खुट्टामा सेता–काला धब्बाहरु हुन्छन्। त्यसैले गर्दा यसलाई टाइगर लामखुट्टे पनि भनिन्छ। यो लामखुट्टेको विशेषता अरु लामखुट्टेभन्दा फरक प्रकृतिको छ।यसले दिउसो टोक्दछ भने सफा र स्थिर पानीमा यसले अण्डा पार्ने गर्दछ। पोथी लामखुट्टेले आफ्नो अण्डाको विकासका लागि रगत चुस्ने गर्दछ। आफ्नो १४ देखि २१ दिनको जीवनचक्रमा यसले करिब ३ सयवटा अण्डा पार्दछ । सन् २००३–४ मा श्रीलंकामा गरिएको एक अनुसन्धानले यी लामखुट्टेहरु मुख्यत: पानी संकलन गर्ने कन्टेनर, फालिएका टायर, गमला, कुलो तथा पानी भरिएका खाल्डाहरुमा देखिएका थिए। थाइल्याण्डमा गरिएको एक अनुसन्धानले डेङ्गुको संक्रमण भएमा ५ सय गुणा बढी डेङ्गु हेमोरेजिक ज्वरो हुने पुष्टि भएको छ। डेङ्गु ज्वरोमा रगतसम्बन्धी असर भएर प्लेटलेट्सको संख्या अध्याधिक कम हुने जटिलता बढ्दछ। हालसालै नेपालमा सबै प्रकारका भाइरस पाइनु र संक्रमण दर बढ्दै जानुले भविष्यमा भयावह अवस्था नल्याउला भन्न सकिन्न।

लक्षण तथा चिह्नहरु 

डेङ्गु भाइरस संक्रमणपश्चात् कतिपयमा कुनै लक्षण तथा चिह्नहरु नै नदेखिने हुन सक्दछ। लक्षण तथा चिह्न देखिएकामा पनि कसैलाई साधारण ज्वरो मात्र आउने गर्दछ भने कसैलाई रगत नजम्ने जटिलता हुन्छ। कसैको चाहि यस्तो स्थितिमा पुगेर मृत्युसमेत हुने गर्दछ। विश्व स्वास्थ्य संगठनले डेङ्गु संक्रमणलाई विभिन्न तरिकाले विभाजन गरेको छ। साधारण प्रकारको डेङ्गु ज्वरोमा अत्याधिक १०३–४ डिग्री सेन्टिग्रेडसम्म ज्वरो आउने, टाउको दुख्ने, आाखाको गेडीपछाडि दुख्ने, मांसपेशी तथा जोर्नीहरु दुख्ने, छालामा रगत जमेका राता खटिराहरु देखिने गर्दछन्। कसै–कसैमा थप जटिलताहरु उत्पन्न हुन सक्दछन्। जसमा विस्तारै रगतमा रहेका प्लेटलेट्सको संख्या घट्दै जान्छ। प्लेटलेट्स रगत जमाउने महत्वपूर्ण तत्व हो। अझ जटिलता बढ्दै गएमा शरीरका विभिन्न भागबाट आँफै रगत बग्न थाल्दछ जस्तो: नाक, गिजा आदि।पिसाबमा रगत देखिने, रगत बान्ता गर्ने, कालो दिशा हुने ,पिसाबको मात्रा कम हुनु, श्वास फेर्न गाह्रो हुने हुन्छन्। डेङ्गु संक्रमणमा बुझ्नुपर्ने महत्वपूर्ण कुरा पहिलो तीन दिन अत्याधिक ज्वरो आउछ। त्यसपछिका चौथो र ५ औ दिन अति नै संवेदनशील दिनहरु हुन्। क्रमश: रक्तचाप घट्ने, शरीरमा रगतको कमी हुने, शरीरका महत्वपूर्ण अंगले काम गर्न छोडेर मानिसको मृत्यु हुन जान्छ, जसमा बिरामीका अंगहरुले काम नगरी मानिसको मृत्यु पनि हुन सक्दछ तर यसपछिका छैठौं देखि दशौं दिन भित्रमा पुन: साधारण जीवन प्रक्रियातर्फ फर्किन थाल्दछ।

उच्च जोखिममा पर्ने वर्गहरु

एक वर्षभन्दा मुनिका बच्चाहरु र ६० वर्षमाथिका वृद्धवृद्धाहरु, मोटोपन भएका व्यक्तिहरु, गर्भवती महिला, पेप्टिक अल्सर भएकाहरु, रगत नजम्ने रोग भएका जस्तो: थ्यालेसेमिया, जन्मजात मुटुका रोगीहरु, मधुमेह, उच्च रक्तचाप, कलेजोको सिरोसिस, मृगौला फेलियर भएका दीर्घ रोगीहरु, स्टेरोइड, पेनकिलर आदि प्रयोग गरिरहेकाहरु उच्च जोखिममा पर्दछन्।

उपचार पद्धति

डेङ्गु भाइरल संक्रमण हो। प्राय: भाइरल संक्रमणमा हामीले लाक्षणिक तथा सहयोगी उपचार प्रक्रिया अपनाउने गर्दछौं। यसको आफ्नै एन्टीभाइरल औषधि भने छैन। चाँडोभन्दा चाँडो रोगको पहिचान गर्नु अत्यन्त आवश्यक छ। समयमै उपचार शुरु गर्दा जटिलता र मृत्युबाट बचाउन सकिन्छ। हिजोआज नेपाल सरकारले डेङ्गु प्रभावित जिल्लाका स्वास्थ्य संस्थाहरुमा नि:शुल्क र्‍यापिड डाइगोनोष्टिक टेस्ट किट (RDT) उपलब्ध गराएको छ। तसर्थ, माथिका लक्षण देखिएमा तुरुन्त परीक्षणको लागि जानुपर्दछ। एस्प्रिन, आइबुप्रोफिन लगायतका औषधिको जथाभावी प्रयोग गर्नु हुँदैन। बिरामीले प्रशस्त पानी तथा झोल पदार्थहरु सेवन गर्नुपर्दछ। स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा उपचार गर्नुपर्दछ।

डेङ्गु सर्ने तरिका

अहिलेसम्म डेङ्गु भाइरल मानिसबाट मानिसमा सरिसकेको छैन। डेङ्गु ज्वरो भएका बिरामीलाई एडिज जातको लामखुट्टेले टोकेपछि उक्त लामखुट्टेले स्वस्थ मानिसलाई टोक्दा उसलाई पनि डेङ्गु सर्दछ। लामखुट्टेको कारणभन्दा पनि मानिसहरुको तीव्र बसाइसराइ र भ्रमणले यो सार्न सहयोग गरिरहेको छ।

डेङ्गुबाट बँच्ने उपायहरु

दिउसो टोक्ने लामखुट्टे एडिज हो। तसर्थ, यसको संक्रमणबाट बच्नु एकदम महत्वपूर्ण छ। थोरै र सफा पानी जम्न सक्ने भाँडाहरु जस्तो: गाडीका काम नलाग्ने टायर, खाली बट्टा, गमला, कुलर आदिमा पानी जम्न दिनु हुँदैन। गमलाहरुमा रहेका पानीलाई हप्ताको २ पटक परिवर्तन गर्नुपर्दछ। पानीका ट्याङ्कीलाई लामखुट्टे छिर्न नसक्ने गरी ढाकेर राख्नुपर्दछ। दिउँसो पनि पूरा बाहुला भएका शरीर पूरै ढाक्ने कपडाहरु प्रयोग गर्नुपर्दछ। लामखुट्टेको टोकाइबाट बच्न लामखुट्टे भगाउने मलम पनि दल्न सकिन्छ । सम्भव भएसम्म दिउँसो सुत्दा पनि झुलभित्र सुत्नुपर्दछ। उच्च जोखिममा रहेका साना बालबच्चा र दीर्घरोगीले त जुनसुकै बेला झुलको प्रयोग गर्नुपर्दछ। घरका झ्याल–ढोकामा जाली लगाउनुपर्दछ। घरवरिपरि सफा–सुग्घर राख्नु, पानी जम्ने खाल्टाखुल्टी पुर्नु पर्दछ। डेङ्गुको शंका लागेमा तुरुन्त स्वास्थ्य संस्थामा गएर आवश्यक परीक्षण र उपचार गर्नुपर्दछ।

डेङ्गु बढ्न सक्ने कारणहरु

हिजोआज बढेको अव्यवस्थित शहरीकरण र अव्यवस्थित औद्योगिकीकरण एक मुख्य कारण हो। नेपालमा शहरी इलाकामा पानीको अभाव हुनु तथा फोहोरमैला व्यवस्थापनमा देखिएका कमजोरीहरुले डेङ्गु संक्रमण बढाउदै लैजान सक्ने देखिन्छ। लामखुट्टेले झन्डै ३ किमि क्षेत्रसम्म ओहोरदोहोर गर्न सक्दछ । तसर्थ, डेङ्गु बढ्ने कारणमा मानिसको अत्याधिक भ्रमण र व्यापारको लागि टाढा जाने प्रवृत्ति पनि कारक तत्व नै हुन्। हिजोआज प्लाष्टिकका सामग्रीहरु, टायरको अधिक प्रयोग र प्रयोगपछि त्यसै छोड्ने प्रवृत्तिले गर्दा डेङ्गु संक्रमण बढाएको पाइन्छ। डेङ्गु प्रायश: पानी पर्ने अत्याधिक गर्मी महिनाहरुमा बढी मात्रामा देखिन्छ। हिजोआज बढेको खडेरी तथा ग्रिन हाउस इफेक्टका कारण पृथ्वीको बढ्दो तापक्रमले भविष्यमा डेङ्गु महामारी निम्तिने खतरा छ। सन् २०८५ सम्ममा यही क्रममा बढ्दो जनसंख्या र वातावरणीय तापक्रम वृद्धि हुादै गएमा संसारका करिब ५० प्रतिशत जनसंख्या डेङ्गु संक्रमणको उच्च जोखिममा रहने अनुमान छ।

तपाईको प्रतिक्रिया

new@7am 2074-01-19 Download Listen
simrik yetra with नेपाल तामाङ घेदुङ तामाङ भाषा लिपि तथा साहित्य बिभाग प्रमुख Kajiman Theeng Tamang सग को कुराकानी Download Listen
Good Night Download Listen
simrik stationid Download Listen
Audio Four Download Listen
Audio Three Download Listen
Audio Two Download Listen
sample Download Listen